ब्राह्मण समाज नेपालका केन्द्रीय अध्यक्ष प्रा.डा. नारायणप्रसाद अधिकारीको शुभकामना सन्देश ब्राह्मण समाज नेपालका सम्पूर्ण मित्रहरु, देश विदेशमा रहनु भएका सम्पूर्ण बन्धुहरु र समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु, यहाँहरुलाई अवगतै छ– ब्राह्मण समाज नेपाल देशभरिका ब्राह्मणहरुको एकमात्र राष्ट्रिय संस्था हो । देशका विभिन्न भागमा, विभिन्न समयमा समान पीडाबोधका साथ समान उद्देश्य लिएर गठन भएका दर्जन बढी ब्राह्मण संगठनहरुलाई एकीकरण गरेर २०६७ सालमा यो ब्राह्मण समाज नेपाल नामक संस्था निर्माण भएको हो । कहाली लाग्दो तत्कालीन राजनैतिक परिवेश र देशको भयावह सामाजिक अवस्थाका कारण राष्ट्रिय अखण्डता, सामाजिक सहअस्तित्व, जातीय सद्भाव र स्वजातीय स्वाभिमानको रक्षाका लागि बाध्यात्मक अवस्थामा यो समाज निर्माण भएको हो । शासन सत्ताबाट हुने कुनै पनि किसिमको विभेदपूर्ण नीतिको, राष्ट्रियता विरोधी र सनातन मूल्य मान्यता विपरीतका गतिविधिको डटेर विरोध गर्ने, देशका सबै जातीय समुदायसँग मैत्री सम्बन्ध कायम गर्ने, सनातन धर्म संस्कृतिको रक्षा गर्ने, समाजमा देखा परेका धार्मिक सांस्कृतिक विकृति विसंगतिको निराकरण गर्ने र हाम्रा पुर्वज ऋषि ब्राह्मणहरुद्वारा अभिव्यक्त सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया । सर्वे भद्राणि पश्यन्तु मा कश्चित दुख भाग्जन । संगच्छध्वं, संवदध्वं संवोमनांसि जानतां देवाभागं यथापूर्वे संजानानामुपासते, सहनाववतु सह नौ भुनक्तु सहवीर्यं करवावहै तेजस्विनावधीत मस्तु मा विद्विषावहै जस्ता उच्च सामाजिक भावनालाई पुनर्जागृत गरेर सामाजिक सौमनस्य कायम गर्दै अघि बढ्ने हाम्रो लक्ष्य हो । देशमा माओवादी आन्दोलनसँगै भित्रिएका र पछि राज्यसत्ताले अपनाएका केही गलत नीतिहरु जस्तैः– १. देशलाई दशभन्दा बढी राज्यमा टुक्र्याउने २. जातका आधारमा प्रदेशको नामकरण गर्ने ३. खस आर्य समुदायलाई अन्य जाति भनेर उपेक्षा गर्ने ४. विभेदपूर्ण आरक्षणका कारण प्रतिभाशाली युवाहरु विदेशिन बाध्य पार्ने ५. हिन्दु, बौद्ध, जैन, किराँत धर्मको उद्गमस्थल पवित्र धार्मिक देशलाई धर्मनिरपेक्ष घोषणा गर्ने ६. संस्कृतमूलक नैतिक शिक्षा हटाउने ७. सनातन धर्म संस्कृति ध्वस्त पार्ने ८. जातीय विद्वेष भड्काउने ९. धर्मान्तरणलाई प्रश्रय दिने १०. जातका आधारमा नागरिकहरुलाई पक्षपातपूर्ण व्यवहार गर्ने ११. हाम्रा चाडपर्वको विदा खोसीदिने १२. गाइलाई राष्ट्रिय जनावर नमान्ने र गौहत्याको वकालत गर्ने जस्ता राष्ट्रियता विरोधी, धर्म विरोधी, संस्कार संस्कृति विरोधी कर्म गरेर सत्तासीन हुने प्रवृत्तिको हामीले घोर विरोध ग¥यौँ । तत्कालीन राज्यसत्ता विरुद्ध एकल संघर्ष ग¥यौँ, समान उद्देश्य भएका अन्य जातीय संगठनहरुसँग मिलेर संयुक्त संघर्ष ग¥यौँ । फलस्वरुप माथि भनिएकामध्ये अधिकांश पक्षमा सुधार भएपनि धर्म निरपेक्षता र जातीय आधारको आरक्षण हटाउने माग पूरा भएको छैन । यसका निमित्त ब्राह्मण समाजले पहल गरिराख्नुपर्ने छ एकातिर भने अर्कातिर हामी ब्राह्मणहरुबीचमै रहेका कतिपय आचार विचार तथा आहारविहार सम्बन्धी कुरा कर्मसंस्कार सम्बन्धी कमीकमजोरी हटाउँदै वैयक्तिक जीवन, पारिवारिक जीवन र सामाजिक जीवनलाई समेत सवल, सक्षम र आदर्शवान बनाउनुपर्ने चुनौती पनि छ । आगामी दिनहरुले हामीलाई यस दिशातिर अभिप्रेरित गरिरहून् । ब्राह्मणहरुको गौरवशाली अतीत र इतिहासलाई वर्तमान परिपे्रक्षमा पुनर्जागरण गर्ने शक्ति र सोच सबैमा प्राप्त होस् भन्ने प्रार्थना राष्ट्रदेव पशुपतिनाथसँग गर्छु साथै नयाँ वर्ष २०८३ सँगै देशमा फेरिएको शासन सत्ता राष्ट्रको सर्वाङ्गीण विकास र जनहितमा लागोस् भन्ने चाहनासहित नयाँ नयाँ भाव जगाइ राखोस् अखण्ड नेपाल अनन्त बाँचोस् अनेकतामा पनि एकता होस् समस्त नेपाल मुसुक्क हाँसोस् भन्ने हार्दिक शुभकामना टक्र्याउँछु । जय ब्राह्मण समाज । पुनश्चः ब्राह्मण समाजका लागि वेवसाइट निर्माण गरी सहयोग गर्ने प्राविधिक भाइ उदिप पराजुलीलाई हार्दिक धन्यवाद दिँदै विश्वभरि छरिएर रहेका ब्राह्मणहरुले उक्त वेवसाइट हेरेर ब्राह्मण समाजका गतिविधिसम्बन्धी जानकारी लिन र उपयुक्त सल्लाह सुझाव दिनसमेत अनुरोध गर्दछु ।




















